सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
१५ जेठ, घोराही - नेकपा माओवादी केन्द्र घोराही नगरले सुरु गरेको जनतासँग माओवादी अभियान अन्तरगत “संगठन विस्तार तथा सुदृढीकरण अभियान“ समापन गरिएको छ । गत बैशाख २५ गतेबाट सुरु भएको अभियान आज १८ औं गणतन्त्र दिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । घोराही–११ जितपुरमा आयोजित कार्यक्रममा विविध राजनीतिक, सामाजिक तथा सांगठनिक सन्देशहरू प्रकट, आगामी योजनाहरूको घोषणा गर्दै ५१ जनालाई पार्टी प्रवेश गराईएको थियो ।
घोराही–११ का अध्यक्ष बेकम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवं घोराही पार्टि इन्चार्ज तुलसी डाँगी ‘मिलन’ र विशिष्टि अतिथी घोराही नगर उपाध्यक्ष एवं अभियानका संयोजक शक्तिराम डाँगी रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ‘मिलन’ले अभियानले संगठनभित्रको एकता, जनसम्पर्क सुदृढीकरण तथा नयाँ सदस्यता विस्तारमा केन्द्रित रहेर सञ्चालन गरिएको बताउनुभयो । यस्तै ,उहाँले आगामी स्थानीय निर्वाचन २०८४ मा घोराही उपमहानगरपालिकामा पार्टीको जित सुनिश्चित गर्नुपर्ने बताउनुभयो । पार्टीको संगठनात्मक बल, जनसमर्थन, र स्थानीय मुद्दामा केन्द्रित भएर आगामी निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । माओवादीको सरकार भएमात्रै नगरबासीले विकास र समृद्धिको महसुस गर्न पाउने उहाँको तर्क थियो ।
यस्तै, विशिष्ट अतिथी शक्तिराम डाँगीले गणतन्त्र स्थापनाको उपलब्धिलाई संस्थागत गर्दै जनताको पक्षमा क्रियाशील संगठन निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भूमिकामाथि प्रकाश पनि पार्नुभएको थियो । कार्यक्रममा घोराही नगर सदस्य तथा घोराही ११ का वडा इन्चार्ज प्रकाश चन्द्र विक, नगर सदस्य तथा सह इन्चार्ज ज्ञानबहादुर ओली र शीतली चौधरीले पार्टी संगठनलाई अझ सशक्त बनाउने दृढता व्यक्त गरेका छन्।
उनीहरुले जनस्तरमा पार्टीको लोकप्रियता बढाउने र संगठनात्मक रूपमा थप बलियो बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने बताएका हुन् । वडा अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गर्दै संगठनलाई अझ सशक्त र जनमुखी बनाउन निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, अभियान सफल पार्न सकृय भुमिका निर्वाह गरेको भन्दै अभियानका संयोजक शक्तिराम डाँगी र वडा सहसचिव ईश्वरबहादुर विकलाई सम्मान गरिएको हो । गणतन्त्र दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति, समसामयिक विषयमा छलफल र आगामी योजनाहरूको घोषणासमेत गरिएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिव चन्द्रबहादुर बुढाले गर्नुभएको थियो ।।