राप्ती गाउँपालिकामा १० दिने डिजिटल मार्केटिङ्ग तालिम सम्पन्न

सोमबार, जेठ २६, २०८२

मसुरिया, २६ जेठ - दाङको राप्ती गाउँपालिकामा १० दिने डिजिटल मार्केटिङ्गसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। “अध्यक्षसँग युवा नवप्रवर्तन” कार्यक्रमअन्तर्गत पालिकाकाे हल मसुरियामा सञ्चालन गरिएको तालिमको सोमबार समापन गरिएको हो।WhatsApp-Image-2025-06-09-at-4.59.57-PM-1749471070.jpegसमापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डिजिटल प्रविधिको माध्यमबाट युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उल्लेख गर्नुभयो। उहाँले अहिलेको डिजिटल युगमा युवाहरूले सीप सिकेर आफ्नै गाउँघरमै बसेर पनि व्यवसाय सुरु गर्न सक्ने बताउनुभयो।

अध्यक्ष विष्टले तालिममा सहभागी युवाहरूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमहरूले गाउँपालिकाका युवाहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण याेगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले पालिकाले आगामी दिनमा पनि यस्ता व्यावसायिक र नविनतम तालिमहरू सञ्चालन गर्दै जाने जानकारी समेत दिनुभयो।

तालिममा १० जनाको सहभागिता रहेको थियो। प्रशिक्षकका रूपमा प्रमोद कार्की र सुदन यादवले सहजीकरण गर्नुभएको थियो।

सीप विकास तथा उद्यमशिलता प्रवर्द्धन गर्न र युवालाई व्यवसायिक दिशातर्फ प्रेरित गर्न तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्