Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुधबार, जेठ २८, २०८२

मसुरिया,२८ जेठ - दाङकाे राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मसुरियामा सम्पन्न भएको छ।

गाउँपालिकाले वडा नम्बर १, २, ५ र ८ मा रहेका स्वास्थ्य संस्थाका व्यवस्थापन समितिका अध्यक्ष, सचिव तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै निर्देशिका र पालिकाले हालसम्म सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम राप्ती गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष चौधरीले पालिकाले सुरक्षित मातृत्वलाई उच्च प्राथमिकतामा राख्दै सबै वडाहरूलाई शून्य होम डेलिभरीतर्फ उन्मुख गराउने लक्ष्यसहित काम अघि बढाइरहेको जानकारी दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पालिकाभित्रका सबै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी भएपछि मात्रै शून्य होम डेलिभरी घोषणा गरिने बताउनुभयो।

उहाँका अनुसार आर्थिक वर्ष २०७६ मा वडा नम्बर ६ लाई पहिलोपटक शून्य होम डेलिभरी वडा घोषणा गरिएको थियो। त्यसयता वडा नम्बर ४, ७ र ८ पनि शून्य हाेम डेलिभरी वडा घोषणा भइसकेको जानकारी दिनुभयो।

शाखा प्रमुख राउतले केही वडाका गाउँहरू भौगोलिक रूपमा विकट भएकाले शून्य होम डेलिभरी घोषणा गर्न चुनौती रहेको बताउनुभयो। त्यस्तै उहाँले यस्ता चुनौतीका बाबजुद पनि पालिकालाई नै शून्य होम डेलिभरी घोषणा गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिनुभयो।

कार्यक्रममा स्वास्थ्य अधिकृत भारती सन्यासीले लुम्बिनी प्रदेश सरकारले तयार पारेको शून्य होम डेलिभरी सम्बन्धी निर्देशिका र यसको कार्यान्वयन प्रक्रिया बारे विस्तृत जानकारी गराउनुभयो।

राप्ती आधारभूत अस्पताल कालापानीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शरण चौधरीले शून्य होम डेलिभरी अभियान देशको समग्र विकासको आधार भएको उल्लेख गर्नुभयो। सुरक्षित मातृत्वले समुदायको स्वास्थ्य सूचक सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि उहाँले बताउनुभयो।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तथा लालमटिया स्वास्थ्य चौकी भालुबाङका व्यवस्थापन समितिका अध्यक्ष गेम बहादुर खड्का, वडा नम्बर ५ का अध्यक्ष तथा सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद चौधरी, विभिन्न वडाका सचिवहरू तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी प्रतिमा विष्टले गर्नुभयो।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
समाचार