राप्तीमा विद्यालय आइरन कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

बिहीबार, जेठ २९, २०८२

मसुरिया, २९ जेठ - दाङको राप्ती गाउँपालिकामा विद्यालय आइरन कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम बिहीबार मसुरियामा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालय उमेर समूहका किशोरीहरूलाई आइरन फोलिक एसिड चक्की खुवाउने विषयमा गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नुका साथै आगामी वर्ष सञ्चालन गर्न लागिएको कार्यक्रमबारे जानकारी र छलफल गरिएको थियो।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न समीक्षा कार्यक्रममा स्वास्थ्य अधिकृत तथा पोषण कार्यक्रम संयोजक धनबहादुर बुढा क्षेत्रीले आइरन चक्की सेवनको आवश्यकता, त्यसको प्रभाव, नियमितता र वितरण प्रणालीका विविध पक्षहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले किशोरीहरूमा हुने रक्तअल्पताको रोकथामका लागि आइरन चक्की वितरण गरिरहेकाे बताउँदै, राज्यको लगानीमा सञ्चालित यस कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले कार्यक्रमको सफल कार्यान्वयनका लागि विद्यालय, स्वास्थ्य संस्था र पालिकाबीचको समन्वय महत्वपूर्ण हुने बताउनुभयो ।

समीक्षा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, वडा नम्बर ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शिक्षक, साथै विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
समाचार