Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

भारी वर्षाको सम्भावनाका कारण राप्तीमा दुई दिन विद्यालय बन्द

आइतबार, असार १५, २०८२

मसुरिया, १५ असार - दाङको राप्ती गाउँपालिकाले भारी वर्षा र संभावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै असार १६ र १७ गते २ दिनका लागि पालिका भित्रका सबै विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

राप्ती गाउँपालिकाको शिक्षा शाखाले आइतबार जारी गरेको सूचनामा असार १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सतर्कता सम्बन्धी सूचनाका आधारमा यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। उक्त बिदा वर्षे बिदाबाट कट्टी हुने पनि सूचनामा स्पष्ट गरिएको छ।

शिक्षा शाखाका अनुसार केही दिनदेखि लगातार परेको भारी वर्षाका कारण नदी, खोला, इनार, पोखरी, जमिन भासिन र पहिरो जाने सम्भावना उच्च रहेकोले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, बिदाको समयलाई बालबालिकालाई दैवीप्रकोपसम्बन्धी सचेतना दिने अवसरको रूपमा प्रयोग गर्न शिक्षक, अभिभावक र विद्यालय प्रशासनलाई अनुरोध गरिएको छ।

विदाको अवधिमा बालबालिकालाई साना तथा ठूला नदी, इनार, पोखरीजस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक बाहेक त्यस्ता क्षेत्रतर्फ जान नदिन र मौसमी बुलेटिनका अद्यावधिक जानकारीको आधारमा मात्र दैनिक कार्य सञ्चालन गर्न सूचनामार्फत आग्रह गरिएको छ।WhatsApp-Image-2025-06-29-at-6.51.01-PM-1751203404.jpeg

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
समाचार