सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, १५ असार - दाङको राप्ती गाउँपालिकामा किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको डेढ महिने आत्मरक्षा तालिम आइतबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो।
तालिम वडा नं. २ स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, वडा नं. ४ स्थित माध्यमिक विद्यालय मौरीघाट र वडा नं. ८ स्थित शंकर माध्यमिक विद्यालय पिपरी गरी तीन स्थानमा सञ्चालन गरिएको थियो। प्रत्येक विद्यालयबाट ३०/३० जना किशोरीहरू सहभागी रहेको तालिममा ९० जना किशोरीहरूको सहभागिता रहेको थियो।
तालिमले किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यवहारिक सीप, आत्मबल अभिवृद्धि, जोखिम अवस्था पहिचान र प्रतिकार गर्ने ज्ञान प्रदान गरेको बताइएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यस्ता तालिमहरू अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजको समयमा किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी व्यवहारिक ज्ञान र सीप अत्यावश्यक छ। यस्ता तालिमहरूले उनीहरूलाई सुरक्षित मात्र बनाउँदैन, आत्मनिर्भर, आत्मविश्वासी र निर्णय क्षमता भएका जिम्मेवार नागरिकका रूपमा तयार पार्न मद्दत गर्छ। किशोरीहरूको सुरक्षासँग जोडिएका विषयमा सचेतना र क्षमता विकासका लागि पालिकाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। आगामी दिनमा पनि यस्ता उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने हाम्रो योजना छ।”
तालिमका प्रशिक्षक यमलाल वाग्ले, विष्णा रेश्मी मगर र पवित्रा चौधरीले सहभागी किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी शारीरिक अभ्यास, मनोबल वृद्धि गर्ने अभ्यास, सजगता र आत्मविश्वास विकास गर्न आवश्यक ज्ञान र सीप प्रदान गरेका थिए।
गाउँपालिकाको पहल र समन्वयमा सम्पन्न यो तालिमले किशोरीहरूलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सकिने उपयोगी सीपहरू प्रदान गरेको सहभागीहरूले बताएका छन्।