Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई १५ लाखभन्दा बढी प्रोत्साहन रकम प्रदान

सोमबार, साउन ५, २०८२

भालुवाङ, ५ साउन - दाङको राप्ती गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १५ लाखभन्दा बढी रकम प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा १ सय २९ जना किसानलाई कूल १५ लाख ४७ हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

पशु तथा मत्स्य विकास शाखा प्रमुख दामोदर आचार्यका अनुसार, प्रतिलिटर ४ रुपैयाँका दरले ३ लाख ८६ हजार ७ सय ५० लिटर दूधमा प्रोत्साहन रकम प्रदान गरिएको हो। उहाँका अनुसार गाउँपालिकामा रहेका १२ वटा निजी डेरी र १७ वटा व्यवसायिक फर्ममार्फत किसानहरुकाे खातामा उक्त रकम प्रदान गरिएको हो।

राप्ती गाउँपालिकाले तीन वर्षदेखि दुग्ध उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै आएको छ। यसका लागि कार्यविधि निर्माण गरिएको छ र वास्तविक किसानको पहिचान तथा अनुगमनपछि मात्र रकम प्रदान गरिने शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो।

जिल्लामै पहिलोपटक दुग्ध उत्पादक किसानलाई स्थानीय तहबाट प्रोत्साहन रकम प्रदान गर्ने काम राप्ती गाउँपालिकाले सुरु गरेको हो। आर्थिक वर्ष २०७९/८० मा प्रति लिटर २ रुपैयाँ दिइँदै आएकोमा किसानको उत्साहजनक सहभागीता पछि अनुदानको दर वृद्धि गरिएको हो।

शाखा प्रमुख आचार्यका अनुसार, "किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रकम वृद्धि गरिएको हो। यसले वास्तविक किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ।"

पालिकाले पशुपालनमा लागेका किसानलाई सहयोग गर्दै नयाँ पुस्तालाई समेत आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। व्यक्तिगत रूपमा होटल वा घरमा दूध बिक्री गर्नेहरू समेत यो कार्यक्रमबाट लाभान्वित भएका छन्।

शाखा प्रमुख आचार्यले पालिकामा उत्पादित दूध लमही, घोराही र प्युठानसम्म पठाइने जानकारी दिँदै राप्ती गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर रहेको उल्लेख गर्नुभयो।

स्थानीय उत्पादनको खपत बढाउन पालिकाले चिसो पेय पदार्थमा प्रतिबन्ध लगाउँदै दही र मोहीको प्रयोगलाई प्राथमिकता दिएको छ।

किसान दीपक बुढा मगरका अनुसार, “पालिकाको यो कार्यक्रमले स्थानीय उत्पादनलाई बजार सुनिश्चित गरेको छ। उत्पादनअनुसार पालिकाबाट प्राप्त अनुदानले थप हौसला मिलेको छ।”

“दुःख गरेर दुध, दही बेच्दा आम्दानी त हुन्छ नै, पालिकाबाट प्रोत्साहन स्वरूप रकम पाएपछि गाईभैँसी थप पाल्न हौसला मिलेको छ,” किसान बुढा मगरले भन्नुभयाे।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यो कार्यक्रमले किसानलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुध उत्पादन र बिक्रीबाट किसानको आम्दानी बढेको छ। स्थानीय उत्पादन प्रवर्द्धन गर्ने हाम्रो अभियानमा यो कार्यक्रम महत्त्वपूर्ण रहेको छ।”

WhatsApp-Image-2025-07-21-at-3.57.16-PM-1753093504.jpeg

WhatsApp-Image-2025-07-21-at-3.57.15-PM-(1)-1753093503.jpeg

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्
समाचार