Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा श्रमदानमार्फत विरुवाको संरक्षण सुरु

शनिबार, साउन १७, २०८२

देउखुरी, १७ साउन - दाङको राप्ती गाउँपालिकामा गत वर्ष रोपिएका बिरुवाहरूको संरक्षण कार्य श्रमदानमार्फत थालिएको छ। पालिकाको वडा नं. ४ मौरीघाटदेखि वडा नं. ९ देविकोट जाेड्ने गणतन्त्र मार्गअन्तर्गत सुन्दरपुर खण्डमा बाटोको दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूलका बिरुवाहरूको वरिपरि झारपात सफा गर्ने, गोडमेल गर्ने र मलजल गर्ने कार्य सुरु गरिएको हो।

"वृक्षारोपण गरेर मात्र हुदैन, संरक्षण पनि अत्यन्त आवश्यक हुन्छ," वडा नं. ४ का अध्यक्ष वीरबहादुर चौधरीले भन्नुभयो , "त्यस कारण हामीले समुदायकै सहभागितामा हरेक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा श्रमदानमार्फत संरक्षण अभियान अघि बढाएका छौं।"

उहाँका अनुसार यस अभियानमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,वडाका जनप्रतिनिधिहरू, शिक्षक, बुद्धिजीवी, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहँदै आएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाहरुलाई श्रम संस्कृतिको विकासका लागि श्रमदानमा सहभागी हुन आग्रह गर्नुभयाे।

"हामीले मोर्निङ वाकमा बाटोमा पसिना बगाउँछौं," अध्यक्ष विष्टले भन्नुभयाे, "अब बाटाेमा हाेइन माटोमा पसिना बगाऔं, जसले देश र समाज दुवैको विकासमा टेवा पुग्छ।"

गत वर्ष गणतन्त्र मार्गको सौन्दर्यकरणका लागि साे क्षेत्रमा गुल्मण, नील्मण,जखरखण्ड, कल्की लगायतका ३ सयभन्दा बढी विरुवाहरू रोपिएका थिए। ती सबै विरुवाको संरक्षण कार्य पूरा नहुञ्जेल श्रमदान अभियान नियमितरूपमा जारी राखिने वडा अध्यक्ष चौधरीले बताउनुभयो।

यसैगरी, पालिकाले गतवर्ष जस्तै यस वर्ष पनि विभिन्न सामुदायिक वनमा खाली रहेकाे क्षेत्रलाई सदुपयोग गर्दै हरियाली प्रवर्द्धन तथा पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले हजारौं फलफूलका बिरुवाहरू रोपेको छ।

यसबाट स्थानीय स्तरमै रोजगारीको सिर्जना गरी युवाहरूलाई स्वदेशमै अवसर उपलब्ध गराउने पालिकाको लक्ष्य रहेको छ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
समाचार