राप्ती गाउँपालिकाद्वारा मनसुनजन्य विपतप्रति सचेत रहन सर्वसाधारणलाई अपिल

मंगलबार, साउन २०, २०८२

मसुरिया,२० साउन - विगत केही दिनदेखि दाङ, रोल्पा र प्यूठानसहितका क्षेत्रमा मनसुन सक्रिय भई लगातार भारी वर्षा भइरहेको सन्दर्भमा राप्ती गाउँपालिकाले बाढी, डुवान र पहिरोको जोखिमप्रति उच्च सतर्कता अपनाउन मंगलबार  एक सूचना जारी सर्वसाधारणलाई अपिल गरेको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा जारी सूचनामा खोलानाला तथा नदीहरूमा पानीको बहाव तीव्र रुपमा बढेको हुँदा डुवान, कटान र पहिरोको जोखिम थप उच्च बनेको उल्लेख गरिएको छ। विशेष गरी जोखिमयुक्त क्षेत्रहरूमा बसोबास गर्ने महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांग व्यक्तिहरूलाई थप जोखिम हुन सक्ने भन्दै पालिकाले आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो।

सूचनामा विपद् न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पूर्ण तयारी अवस्थामा रहन आग्रह गरिएको छ। साथै,जाेखिमयुक्त क्षेत्र आसपास बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

रेडक्रस, सुरक्षा निकाय, सामुदायिक विपद् व्यवस्थापन समिति, वडास्तरीय टोली, स्वयंसेवी संस्था, राजनीतिक दल, संचारमाध्यम र नागरिक समाजलाई पनि समन्वयात्मक ढंगले विपद् व्यवस्थापनमा जुट्न र संवेदनशील स्थानहरूको निगरानीमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

गाउँपालिकाले आकस्मिक अवस्थाबारे छिटो सूचना प्रवाह गर्न वडास्तरबाट तत्काल रिपोर्टिङ सुनिश्चित गर्न भनेको छ भने नागरिकहरूलाई आवश्यक परेको खण्डमा सम्बन्धित सम्पर्क नम्बरहरू मार्फत तुरुन्त जानकारी दिन पनि आग्रह गरिएको छ।

त्यस्तै सूचनामा सबैलाई सजग, सतर्क र संवेदनशील रहन आग्रह गर्दै आपसी सहयोग, संयमता र सक्रियतामार्फत सम्भावित जोखिम न्यूनीकरण गर्न सबैको साथ र सहयोग अपेक्षा गरिएको छ।WhatsApp-Image-2025-08-05-at-5.41.36-PM-1754397436.jpeg

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्