सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सिसहनियाँ, २८ साउन - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रक्तदानलाई सबैभन्दा उत्कृष्ट दानको भएको उल्लेख गर्दै युवाहरूलाई रचनात्मक कार्यमा सक्रिय हुन आग्रह गर्नुभएको छ।
बुधबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजित खुल्ला रक्तदान तथा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले, जिल्लाका विभिन्न अस्पतालमा रगतको अभाव भइरहेका बेला युवाहरूको पहल प्रशंसनीय र अनुकरणीय भएको बताउनुभयो। यस कार्यले रगत अभाव कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।
अध्यक्ष विष्टले पालिकामा स्वास्थ्य पूर्वाधार विस्तारको काम भइरहेकाे चर्चा गर्दै वडा नं. १ भालुबाङमा प्रदेशस्तरीय भालुबाङ अस्पताल र वडा नं. ५ कालापानीमा पालिकास्तरीय आधारभूत अस्पताल सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। साथै, बिरामीहरूलाई आवश्यक पर्ने रगतका लागि गाउँपालिकामा ब्लड बैंक स्थापना अति आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय सरकारले यसको स्थापना गर्न आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो।२६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्ती चेम्बर अफ कमर्स मातहतको युवा चेम्बर अफ कमर्सले आयोजना गरेको उक्त शिविरमा २ सय ३० जनाले स्वास्थ्य सेवा लिएका थिए। तीमध्ये १ सय ४० जनामा नसा तथा हाडजोर्नीसम्बन्धी समस्या र ९० महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरु रहेका थिए। शिविरमा विभिन्न क्षेत्रका २४ जनाले रगतदान गरेका थिए।
कार्यक्रम राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा आध्या मेडिकल हल सिसहनियाँ ,नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटिया र रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।