Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा आप्रवासी चरा तथा जैविक विविधता संरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न

बिहीबार, असोज २३, २०८२

भालुबाङ, २३ असाेज - दाङको राप्ती गाउँपालिकामा जनप्रतिनिधिहरूसँग आप्रवासी चरा तथा जैविक विविधता संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको आयोजनामा बिहीबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा “दाङ–देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरूको संरक्षणका लागि स्थानीय सरकार र समुदायको संलग्नता” परियोजनाअन्तर्गत उक्त अन्तरक्रिया सम्पन्न गरिएको हो।

नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीका अनुसार कार्यक्रम जनप्रतिनिधि र स्थानीय समुदायबीच चरा तथा जैविक विविधता संरक्षणबारे चेतना अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको हाे। उहाँले कार्यक्रममा राप्ती नदी र आसपासका क्षेत्रमा पाइने स्थानीय र आप्रवासी चराहरूको वर्तमान अवस्था, चुनौती र संरक्षणका उपायबारे विस्तृत छलफल गरिएको जानकारी दिनुभयो।

नेपालीका अनुसार, राप्ती सिमसार क्षेत्रमा हालसम्म ३ सय १९ प्रजातिका चराहरू फेला परिसकेका छन्। उहाँले यो क्षेत्र स्वदेशी र विदेशी चराहरूका लागि महत्त्वपूर्ण वासस्थान भएको उल्लेख गर्दै संरक्षणका लागि स्थानीय तह र समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले चराहरु लोप हुनुमा मानवका अमानवीय गतिविधि प्रमुख कारण भएको बताउनुभयो।

“मानिसकै कारण अहिले चराचुरुङ्गी संकटमा परेका छन्,” उहाँले भन्नुभयाे।

 चरा संरक्षणका लागि मानिसहरूले आफ्नै व्यवहारमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँपालिकाको तर्फबाट चरा तथा जैविक विविधता संरक्षण अभियानमा सहयोग र प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष विरबहादुर चौधरी, वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, कार्यपालिका सदस्यहरू तथा विभिन्न शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत दिलीप चन्दले गर्नुभएको थियो।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
समाचार