Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा ‘सुनौलो हजार दिन’का आमा र ५ वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा सुरु

शनिबार, कात्तिक २२, २०८२

भालुबाङ,२२ कार्तिक - दाङको राप्ती गाउँपालिकामा ‘सुनौलो हजार दिन’का आमा र ५ वर्षमुनिका बालबालिकाहरूको पोषण लेखाजोखा कार्यक्रम आजदेखि सुरु भएको छ। मातृ–शिशु स्वास्थ्य सुदृढीकरण र कुपोषण न्यूनीकरणलाई लक्षित गर्दै गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडामा एकैसाथ साे कार्यक्रम सुरु गरेको हो।WhatsApp-Image-2025-11-08-at-2.35.26-PM-1762605538.jpeg

यस अभियान अन्तर्गत करिब चार हजार बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था मूल्यांकन गरिने लक्ष्य रहेको स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रममा आमाहरूको तौल, उचाइ र पाखुराको नाप लिइँदै शरीर द्रव्य सूचकांक (BMI) गणना गरिन्छ। यसबाट गर्भवती तथा स्तनपान गराइरहेका महिलाको पोषण अवस्था सन्तुलित छ कि छैन भन्ने पहिचान गरिनेछ।

त्यस्तै, बालबालिकाको तौल, उचाइ र पाखुराको नाप (MUAC) मापन गरी पोषण सूचकांक (Z-Score) निकालिन्छ। यही आधारमा बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाइनेछ। कुपोषणको जोखिममा रहेका बालबालिकालाई आवश्यक परामर्श, पौष्टिक आहार तथा आवश्यकता अनुसार उपचार सेवामा रिफर गर्ने व्यवस्था गरिएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ आमा र स्वस्थ शिशु नै भविष्यको समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै ‘सुनौलो हजार दिन’ कार्यक्रमलाई पालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयाे।
“यो अवधिमा गरिने सही पोषणको लगानीले बालबालिकाको शारीरिक, मानसिक र सिकाइ क्षमतामा दीर्घकालीन प्रभाव पार्दछ,” उहाँले भन्नुभयो।

कार्तिक २२ गतेदेखि २४ गतेसम्म तीन दिन सञ्चालन हुने यस कार्यक्रममा स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयंसेविका र समुदायको सक्रिय सहभागिता रहेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
समाचार