Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शिक्षा क्षेत्रमा तत्काल परिवर्तनको माग गर्दै मन्त्री महावीर पुनलाई खुला पत्र

बिहीबार, माघ १, २०८२

दाङ, १ माघ- शिक्षा क्षेत्रमा व्याप्त बेथिति, शिक्षकका समस्या र नीतिगत सुधारको आवश्यकता औँल्याउँदै दाङको राप्ती गाउँपालिका–१ चैतेदमारस्थित श्री राप्तीगंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर बुढा मगरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन मगरलाई खुला पत्रमार्फत गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

पत्रमार्फत मन्त्री पुनलाई नेपालका प्रथम तथा द्वितीय जनजाति मगर र थारू समुदायको राष्ट्रिय सांस्कृतिक पर्व माघे सकराती, माघी तथा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उहाँ मन्त्री भएको करिब १ सय ५ दिन बितिसक्दा पनि शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन देखिन नसकेको उल्लेख गरिएको छ। समयको कमी हो कि प्रभावकारी टिमको अभाव हो भन्ने विषय मन्त्री स्वयंलाई थाहा हुने भन्दै ‘भुईँमान्छे’ का तर्फबाट आएका सुझाव उपयोगी लागे डायरीमा टिपेर राख्न आग्रह गरिएको छ।
प्रधानाध्यापक बुढाले देशको भविष्य निर्माण गर्ने आधारस्तम्भ शिक्षक भए पनि आज शिक्षकहरू अनेकौं पीडा, समस्या र अन्योलबीच आफ्नो जिम्मेवारी पूरा गर्न बाध्य रहेको उल्लेख गर्नुभएको छ। शिक्षाको गुणस्तर सुधारका कुरा हुँदा शिक्षकको अवस्था र मनोबललाई बेवास्ता गरिनु दुःखद भएको उहाँको भनाइ छ।
पत्रमा हाल शिक्षकहरूले भोगिरहेका प्रमुख समस्याका रूपमा न्यून तलब–भत्ता, समयमै सेवा–सुविधा नपाइनु, अस्थायी तथा करार शिक्षकको अनिश्चित भविष्य, बढ्दो प्रशासनिक बोझ, तालिम र पेशागत विकासका अवसरको अभाव तथा समाज र राज्यबाट अपेक्षित सम्मान नपाइनु उल्लेख गरिएको छ। यी समस्याले शिक्षकको मनोबल कमजोर बनाउँदै शिक्षण–सिकाइ प्रक्रियामा नकारात्मक असर पारिरहेको जनाइएको छ।
शिक्षक सन्तुष्ट र सुरक्षित नभएसम्म गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै पत्रमा तलब–भत्ता तथा सेवा–सुविधामा सुधार, अस्थायी तथा करार शिक्षकको दीर्घकालीन समाधान, अनावश्यक प्रशासनिक काम घटाई शिक्षणमा केन्द्रित वातावरण निर्माण, नियमित तथा गुणस्तरीय तालिम, शिक्षकको गरिमा र सम्मान सुनिश्चित गर्ने नीतिगत व्यवस्था तत्काल आवश्यक रहेको धारणा राखिएको छ।
यसैगरी नेपालका करिब ८० प्रतिशत विद्यालय वन, ऐलानी तथा अन्य स्वामित्व स्पष्ट नभएका जग्गामा रहेको कारण भौतिक संरचना निर्माणका लागि बजेट नपाउने समस्या रहेको जनाउँदै विद्यालयलाई जग्गाधनी पुर्जा दिने व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ।
प्रधानाध्यापक बुढाले मन्त्री पुनले माघ २ गतेसम्म शिक्षा नियमावली संशोधन तथा प्रधानाध्यापक भत्ता पुनरावलोकन गर्ने तयारी गरेको सन्दर्भ उल्लेख गर्दै हाल आफूले पाउने मासिक २ सय रुपैयाँ प्रधानाध्यापक भत्ता दैनिक विद्यालय आउजाउमा लाग्ने गाडी भाडाभन्दा कम भएको जनाउनुभएको छ। उक्त भत्ता नलिई राज्यकोषमा फिर्ता गर्न तयार रहेको बताउँदै त्यसो गर्दा कारबाही हुने हो कि भन्ने प्रश्नसमेत उठाइएको छ।
पत्रमा आफू घर नजिकैको विद्यालय छाडेर हाल २० किलोमिटर टाढाको विद्यालयमा कार्यरत रहेको उल्लेख गर्दै पाँच–पाँच वर्षमा विद्यालय परिवर्तन गरी शैक्षिक, भौतिक, सामाजिक तथा सांस्कृतिक अनुभव लिन रुचाउने धारणा पनि व्यक्त गरिएको छ।
अन्त्यमा प्रधानाध्यापक बुढाले शिक्षकहरुले मन्त्री पुनबाट नवप्रवर्तन र परिणाममुखी नेतृत्वको ठूलो आशा राखेको उल्लेख गर्दै शिक्षकका पीडामा सहानुभूति राखी ठोस निर्णय र प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा क्षेत्रलाई सही दिशामा लैजान आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
समाचार