सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २१ जेठ - दाङको राप्ती गाउँपालिकाले स्थानीय उत्पादन, कृषि तथा पशुजन्य वस्तुको बजारीकरण, नवीन प्रविधिको प्रदर्शन र स्वरोजगारका अवसरबारे जानकारी गराउने उद्देश्यले ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ।
गाउँपालिकाले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत प्रदर्शनी आयोजना गर्न लागिएको हो। प्रदर्शनीमा कृषि, पशुपालन, उद्यम तथा रोजगारीसँग सम्बन्धित विविध विषय समेटिने जनाइएको छ।
गाउँपालिकाका अनुसार प्रदर्शनी असार १९ गते शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म गाउँपालिका कार्यालय परिसरमा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी भई प्रदर्शनीको अवलोकन गर्न तथा ज्ञान, प्रविधि र अवसरहरूको लाभ लिन गाउँपालिकाभित्रका कृषक, कृषि तथा पशुपालन समूह, सहकारी, उद्यमी, युवा, विद्यार्थी, पत्रकार तथा सर्वसाधारणलाई निमन्त्रणा गरिएको छ।
प्रदर्शनीमा कृषि उत्पादन तथा कृषि औजार–प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी तथा पशु आहार प्रदर्शनी, स्थानीय हस्तकला र लघु घरेलु उद्योगका उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ। यस्तै, कृषि क्षेत्रमा मोबाइल एपमार्फत उपलब्ध सेवाबारे जानकारी, रोजगार परामर्श, सीप विकास तथा वैदेशिक रोजगारीसम्बन्धी सूचना र गाउँपालिकाबाट प्रवाह हुने सेवाबारे समेत जानकारी प्रदान गरिने जनाइएको छ।
गाउँपालिकाले प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवासहित स्टल राख्न चाहने व्यक्ति तथा संस्थालाई समेत सहभागी हुन आह्वान गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले तोकिएको मितिभित्र फाराम भरी स्टल दर्ता गर्न सक्ने सूचनामा उल्लेख छ।
गाउँपालिकाले उक्त प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा रोजगारीका अवसरबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।