सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया,८ असार - दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पर्यटन, पूर्वाधार तथा सुशासनलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट ले शुक्रबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा “समृद्ध राप्ती निर्माण” लाई मुख्य लक्ष्य बनाइएको छ।
अध्यक्ष विष्टले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, प्रभावकारी सेवा प्रवाह र नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई विकासको आधार स्तम्भका रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो।
स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता
गाउँपालिकाले “गाउँ–गाउँमा विशेषज्ञ, घर–घरमा स्वास्थ्य” अभियान सञ्चालन गर्ने नीति लिएको छ। प्रत्येक नागरिकको डिजिटल स्वास्थ्य प्रोफाइल तयार गरिने तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राप्ती आधारभूत अस्पताल बाट उपलब्ध सेवा निःशुल्क प्रदान गरिने भएको छ।
त्यसैगरी विपन्न नागरिकको उपचारका लागि “विपन्नका लागि जीवन रक्षा कोष” स्थापना गरिने, स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिने तथा गर्भवती, प्रसूति, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा निरन्तर सञ्चालन गरिने जनाइएको छ।
प्रविधिमैत्री शिक्षा र छात्रवृत्तिमा जोड
शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने लक्ष्यसहित सामुदायिक विद्यालयमा कक्षा १० सम्मको निःशुल्क शिक्षालाई निरन्तरता दिइने भएको छ। विद्यालयको कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराइने, प्राविधिक शिक्षामा छात्रवृत्ति प्रदान गरिने तथा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ।
विद्यालय व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार प्रणाली लागू गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ।
कृषि र रोजगारमा आत्मनिर्भरता अभियान
कृषि तथा पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधारका रूपमा अघि बढाउँदै उत्पादनमा आधारित अनुदान, कृषि उपज संकलन केन्द्र विस्तार, कृषि तथा भेट एम्बुलेन्स सञ्चालन, अर्गानिक खेती प्रवर्द्धन तथा “एक गाउँ एक उत्पादन” कार्यक्रम सञ्चालन गरिने भएको छ।
युवा तथा रोजगार क्षेत्रतर्फ “सिप हातमा, रोजगारी साथमा” अभियानमार्फत युवालाई उत्पादनशील क्षेत्रमा जोडिने नीति ल्याइएको छ। सीपमूलक तालिम, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनुका साथै वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि पुनःएकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ।
गाउँपालिकामा लगानी आकर्षित गर्न “इन्वेस्ट राप्ती” अभियान सञ्चालन गरिने जनाइएको छ।
पर्यटन र पूर्वाधार विकासमा नयाँ योजना
पर्यटन क्षेत्रको विकासका लागि देविकोट क्षेत्रमा प्याराग्लाइडिङ तथा राप्ती नदी मा बोटिङ र र्याफ्टिङ सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको छ।
पूर्वाधार विकासअन्तर्गत राप्ती चक्रपथ निर्माण, सडक स्तरोन्नति, सिँचाइ विस्तार, विद्युत् पहुँच वृद्धि तथा “उज्यालो राप्ती” कार्यक्रमलाई निरन्तरता दिइने नीति ल्याइएको छ। सबै मौसममा सञ्चालन हुने सडक सञ्जाल निर्माण, खानेपानी तथा सरसफाइ कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।
एआई र जिआइएसमार्फत सेवा प्रवाह
सुशासन र सेवा प्रवाह सुधारलाई विशेष महत्व दिँदै गाउँपालिकाले डिजिटल सेवा विस्तार, नागरिक सन्तुष्टि सर्वेक्षण तथा कृत्रिम बौद्धिकता (एआई) र भौगोलिक सूचना प्रणाली (जिआइएस) को प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति लिएको छ।
अध्यक्ष विष्टले प्रस्तुत नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र सुशासनमार्फत समृद्ध राप्ती निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
“स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार”
कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रजित थारू ले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आवश्यकता, अपेक्षा र समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो।
उहाँले राप्ती गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सुशासनलाई केन्द्रमा राखेर तयार गरिएको भन्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
सांसद थारूले प्रदेश सरकार स्थानीय तहका विकास प्राथमिकता र आवश्यकताप्रति संवेदनशील रहेको बताउँदै विकास निर्माण, पूर्वाधार विस्तार तथा जनजीविकासँग जोडिएका कार्यक्रम कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।