राप्तीमा शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम सुरु

शुक्रबार, असार १२, २०८३

मसुरिया, १३ असार - दाङको राप्ती गाउँपालिकाको आयोजनामा वडा नं.४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुई दिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि सुरु भएको छ।

विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्दै विद्यालय शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अनुशासन, सकारात्मक सोच र नैतिक मूल्यको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप, नेतृत्व क्षमता र जीवनोपयोगी शिक्षासँग जोड्नुपर्नेमा जोड दिनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यबाट मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले सांगीतिक पीटी र प्रार्थना व्यवस्थापनले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले शिक्षा क्षेत्रको सुधार स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। उहाँले विद्यालयहरूमा सिर्जनात्मक तथा व्यवहारिक सिकाइको वातावरण निर्माण गर्न यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिममा सांगीतिक पीटी तथा ‘सिक्दै सिकाउँदै शैक्षिक राष्ट्रिय अभियान’का प्रशिक्षक हरिश वलीले सहजीकरण गरिरहनुभएको छ।
उहाँले प्रभावकारी प्रार्थना व्यवस्थापन, सांगीतिक पीटी सञ्चालन, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सकारात्मक सोच, आत्मअनुशासन तथा समय व्यवस्थापनलगायत विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिरहनुभएको छ।


दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमको पहिलो दिन विद्यार्थी र दोस्रो दिन अभिभावकहरूलाई प्रशिक्षण प्रदान गरिनेछ।

सहायक शिक्षा अधिकृत देवी मल्लका अनुसार यही कार्यक्रम आगामी आइतबार र सोमबार वडा नं.५ स्थित सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँमा पनि सञ्चालन गरिनेछ।

तालिमबाट विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा समुदायमा व्यवहारमा उतारेर शैक्षिक सुधारमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १९:२३
प्रतिक्रिया दिनुहोस्
समाचार