सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं, १४ असार – फिफा विश्वकप फुटबलमा इङ्गल्यान्ड समूह ‘एल’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा इङ्गल्यान्डले पानामालाई २–० गोलअन्तरले पराजित गर्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको हो।
इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि ह्यारी केनले ६७औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
यही समूहअन्तर्गत भएको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै समूहको दोस्रो स्थान कब्जा गर्दै अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
क्रोएसियाका लागि पेटार सुचिचले ३१औँ मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको ७३औँ मिनेटमा डेरिक लुकासेनले घानाका लागि बराबरी गोल फर्काए। तर ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको उत्कृष्ट पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्त्वपूर्ण जित दिलाए।
पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। यससँगै स्कटल्यान्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ।
उता, विश्वकपअन्तर्गत अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलान्टा स्टेडियममा डीआर कङ्गो र उज्बेकिस्तानबीच खेल जारी छ। पछिल्लो विवरणअनुसार उज्बेकिस्तानले डीआर कङ्गोविरुद्ध १–० को अग्रता बनाएको छ।
यस्तै, नेपाली समयअनुसार आज बिहान पौने ८ बजे अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ।
विश्वकपका समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै नकआउट चरणमा पुग्ने टोलीहरूको टुंगो लाग्ने क्रम तीव्र बनेको छ।