राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

बुधबार, असार १७, २०८३

मसुरिया, १७ असार - दाङको राप्ती गाउँपालिकामा मगर भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको १० दिने मगर भाषा प्रशिक्षण बुधबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिका–८ पिपरीमा नेपाल मगर संघ राप्ती गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भाषा, कला र संस्कृति समुदायको पहिचान तथा अस्तित्वको आधार भएकाले मातृभाषा संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई मातृभाषासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै गाउँपालिका भाषा तथा संस्कृतिको संरक्षणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

“मगर भाषा हाम्रो पहिचान, मगर लिपि हाम्रो गरिमा” भन्ने नारासहित सञ्चालन गरिएको प्रशिक्षणमा २७ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई मगर भाषाको आधारभूत ज्ञान, लिपि, लेखन तथा बोलचाल सम्बन्धी सीप प्रदान गरिएको थियो।

नेपाल मगर संघ राप्ती गाउँपालिकाका अध्यक्ष हिरा बहादुर झाक्री मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणको सहजीकरण मगर लेखक संघ केन्द्रीय भाषिक उपाध्यक्ष इराधा झाक्री मगरले गर्नुभएको थियो।


 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
समाचार