फिफा विश्वकपमा नर्वेमाथि २–१ गाेलकाे पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आइतबार, असार २८, २०८३

काठमाडौं,२८ असार - जुड बेलिंघमकाे दुई गोलकाे मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि सेमिफाइनमा प्रवेश गरेको हो ।

पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाति अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।


दोस्रो हाफका दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०६:०९
प्रतिक्रिया दिनुहोस्