सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, १२ साउन - दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम र सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ।
मंगलबार गाउँपालिकामा सम्पन्न कार्यक्रममा आर्थिक वर्षभरको बजेट कार्यान्वयन, विकास निर्माण, सेवा प्रवाह तथा शाखागत उपलब्धिबारे समीक्षा गरिएको थियो।समीक्षाका क्रममा गाउँपालिकाले स्वीकृत कुल ६६ करोड ३५ लाख ८५ हजार ९ सय ४२ रुपैयाँ बजेटमध्ये ५८ करोड ६८ लाख ७९ हजार ५ सय ८५ रुपैयाँ अर्थात् ८८ दशमलव ७१ प्रतिशत रकम प्राप्त गरेको जनाएको छ।
प्राप्त रकममध्ये ५१ करोड ८५ लाख २८ हजार ६ सय ५२ रुपैयाँ अर्थात् ७८ दशमलव १४ प्रतिशत खर्च भएको जानकारी दिइयो।
चालुतर्फ ५० करोड ३५ लाख ६९ हजार ३ सय ४२ रुपैयाँमध्ये ३९ करोड ५४ लाख ४८ हजार ३ सय ६२ रुपैयाँ तथा पुँजीगततर्फ १६ करोड १६ हजार ६ सय रुपैयाँमध्ये १२ करोड ३० लाख ८० हजार २ सय ८९ रुपैयाँ खर्च भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लक्ष्यअनुसार शतप्रतिशत बजेट खर्च हुन नसके पनि समग्रमा कार्यसम्पादन सन्तोषजनक रहेको बताउनुभयो। सीमित स्रोत–साधन, जनशक्ति र विभिन्न चुनौतीका बाबजुद गाउँपालिकाले विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँको भनाइ थियो।
उहाँले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै योजनाको गुणस्तर, समयमै सम्पन्न हुने अवस्था र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाममा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जेन्जी आन्दोलन, निर्वाचनसम्बन्धी गतिविधि तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण सिर्जित परिस्थितिले लक्ष्यअनुसार बजेट खर्च गर्न केही कठिनाइ भएको बताउनुभयो। ती चुनौतीका बाबजुद पनि कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाको समन्वयबाट साे प्रगति हासिल भएको उहाँकाे भनाइ थियो।
उहाँले आगामी आर्थिक वर्षमा योजना कार्यान्वयनलाई सुरुदेखि नै व्यवस्थित गरी लक्ष्यअनुसार बजेट खर्च गर्ने, वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने गरी काम गरिने बताउनुभयो।
कार्यक्रममा वडा कार्यालय तथा विषयगत शाखाले आर्थिक वर्षभर सञ्चालन गरेका योजना, कार्यक्रम र उपलब्धिको समीक्षा प्रस्तुत गरेका थिए।