लुम्बिनीमै पहिलोपटक राप्तीमा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु

बुधबार, भदौ १७, २०८३

भालुबाङ, १७ भदौ - लुम्बिनी प्रदेशमै पहिलोपटक दाङको राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु गरिएको छ।

पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम मंगलबार राप्ती गाउँपालिकामा सम्पन्न भएको हो।

जाइका नेपालको सहयोगमा सञ्चालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यसम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो।

कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रोशनलाल चौधरीले मातृ तथा बाल स्वास्थ्य सेवामा निरन्तरता र समन्वय आवश्यक रहेको बताउनुभयो। पुस्तिकालाई स्वास्थ्य संस्था र समुदायबीचको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।WhatsApp-Image-2026-09-02-at-05.29.01-1788311074.jpeg

मातृ तथा बाल स्वास्थ्य विज्ञ मिनराज ज्ञवाली, स्वास्थ्य प्रशासक डा. अच्युत न्यौपाने, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसी र राप्ती आधारभूत अस्पतालका एमडीजीपी डा. सुशील केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य विवरण व्यवस्थित राख्न, आवश्यक उपचार तथा परामर्श दिन र स्वास्थ्य सेवाको निरन्तरता कायम गर्न सहयोग पुग्ने बताउनुभयो।

पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदायबीच समन्वय तथा सक्रिय सहभागिता आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोग, महत्व, स्वास्थ्यसम्बन्धी विवरण अभिलेख गर्ने तरिका तथा सेवा निरन्तरता सुनिश्चित गर्ने प्रक्रियाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख, स्वास्थ्यकर्मी,सञ्चारकर्मी तथा लक्षित व्यक्तिहरुको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गर्नुभएको थियो।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०६:४९
प्रतिक्रिया दिनुहोस्
समाचार