सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१७ भदाै - रसुवामा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका गढवा गाउँपालिकाका तीन जना र राप्ती गाउपालिकाका नागरिकको खोजी तथा पहिचानका लागि गढवा र राप्ती गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र प्रकाश विष्ट सहितको टोली रसुवा पुगेको छ।
बाढीपछि गढवा गाउँपालिकाका तीन जना नागरिक हालसम्म सम्पर्कविहीन रहेकाले उनीहरूको सम्भावित स्थानसम्म पुगेर खोजी कार्यलाई अन्तिम सीमासम्म निरन्तरता दिने उद्देश्यले गाउँपालिका अध्यक्ष पोख्रेल, विपद् व्यवस्थापन समितिका सदस्य तथा सम्पर्कविहीन परिवारका सदस्यसहितको टोली रसुवा पुगेको हो।
टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै बेपत्ता नागरिकहरूको खोजी, उद्धार तथा सम्भावित पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। साथै, सम्पर्कविहीन परिवारका सदस्यहरूको डीएनए परीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारीसमेत गरिएको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।
अध्यक्ष पोख्रेलले परिवारमा आशा रहेसम्म खोजी कार्यबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “परिवारले आशा गरुञ्जेल हामी पनि हार मान्ने छैनौँ। बाढीले बेपत्ता भएका हाम्रा नागरिकको सम्भावनाको अन्तिम सीमासम्म खोजी गर्दै अघि बढ्नेछौँ।”
गढवा गाउँपालिकाले यसअघि पनि रसुवामा भएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यमा आवश्यक सहयोग र समन्वय गर्दै आएको छ। पछिल्लो टोलीको रसुवा प्रस्थानसँगै सम्पर्कविहीन नागरिकहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
गढवा गढवा गाउँपालिका वडा नम्बर ६ खबरी निवासी ज्ञानु पुन, गढवा ३ निवासी दिप प्रकाश चौधरी र गढवा ४ निवासी श्याम चौधरी हाल सम्म सम्पर्क बिहिन बन्नु भएको छ।