दलित तथा सुकुम्बासीको घर डोजरले भत्काइयो, दोषीमाथि कारबाहीको माग

बुधबार, भदौ १७, २०८३

घोराही,१७ भदाै  -  दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीमा दलित तथा सुकुम्बासी परिवारको घर डोजर लगाएर भत्काइएको घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

पीडित दलित तथा सुकुम्बासी परिवारको संयुक्त आयोजनामा बुधबार घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले लामो समयदेखि बसोबास गर्दै आएका परिवारको घरमा डोजर लगाएर भत्काउने कार्य गैरकानुनी, अमानवीय र गैरजिम्मेवार भएको बताएका हुन्।

नेपाली दलित अभियान नेपालका संयोजक केशव नेपालीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रियासनले लामो समयदेखि बसोबास गर्दै आएका दलित तथा सुकुम्बासी परिवारको घर भत्काउनु गम्भीर मानवताविरोधी घटना भएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी घर भत्काउन आदेश दिने तथा डोजर चलाउनेलगायत घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो। “कानुनी प्रक्रिया पूरा नगरी गरिब, दलित र सुकुम्बासीको घर भत्काउने अधिकार कसैलाई छैन। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउनुपर्छ,” उहाँले भन्नुभयो।

नेपाली दलित अभियान नेपालका संयोजक केशव नेपालीले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको घर भत्काइएको  घटनाको निष्पक्ष छानबिन गरी पीडितले न्याय पाउने वातावरण बनाउन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले  राज्यका निकायले कुनै पनि नागरिकको आवास र अधिकारको विषयमा संवेदनशील भएर कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा  जोड दिनुभयो । पीडित परिवार ले न्याय नपाए न्यायका लागि काठमाडौंको मातिघर मण्डलामा जाने समेत उहाँको भनाइ थियो ।

कार्यक्रममा मुक्ति कमैया दाङका जिल्ला अध्यक्ष हरि चन्द चौधरी, भूमिहीन सुकुम्बासी तथा श्रमिक नेपाल दाङका जिल्ला अध्यक्ष वसन्त नेपाल, परियार सेवा समाज दाङका जिल्ला अध्यक्ष सन्तोष परियार तथा नेकपा बहुमतका पोलिटब्युरो सदस्य प्रेमप्रसाद बोहरालगायतले दलित तथा सुकुम्बासी परिवारको घरमा डोजर लगाएर भत्काउने कार्य गैरकानुनी, अमानवीय र गैरजिम्मेवार कार्य भएको बताउनुभयो ।

उहाँहरुले आवश्यक अनुमति तथा कानुनी प्रक्रिया पूरा नगरी घर भत्काइएको दाबी गर्दै घटनामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको थियो।

पीडित परिवारका अनुसार शान्तिनगर–३ भलानेटा निवासी पूर्णबहादुर परियारलगायत दलित तथा सुकुम्बासी परिवारले २०५९/०६० सालदेखि ऐलानी जग्गामा घर निर्माण गरी बसोबास गर्दै आएका थिए। तर, २०८३ भदौ ६ गते उनीहरूको घरमा डोजर चलाएर भत्काइएको हो। पीडित परिवारले घर भत्काउने निर्णय, त्यसको प्रक्रिया र घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे निष्पक्ष छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा आफूहरूको आवास र अधिकारको उचित व्यवस्थापन गर्न माग गरेका छन्। कार्यक्रमको सञ्चालन अभियान नेपालका प्रवक्ता सुशील परियारले गर्नुभएको थियो।

समाचार साभार : सिस्ने अनलाइन डटकम

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
समाचार