भोटेकोशी बाढी अपडेट

भोटेकोशी बाढी अपडेट : ११ दिनपछि घर र सुरुङबाट दुई जना जीवितै उद्धार

शनिबार, भदौ २०, २०८३

काठमाडौँ,२० भदाै‌ - भोटेकोशी नदीमा विनाशकारी बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले नुवाकोटको एक घरबाट एक महिला र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेका हुन्।

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।

इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले श्रेष्ठको उद्धार गरेको हो।

त्यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई सुरुङबाट बाहिर निकालेको हो।

यसअघि बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।

लगातारको खोज तथा उद्धारका क्रममा बाढी आएको लामो समयपछि समेत जीवित व्यक्ति भेटिनुले उद्धार टोलीमा थप आशा जगाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
समाचार