राप्ती र रुरुक्षेत्र गाउँपालिकाबीच सवारी साधन सहयोगका लागि द्विपक्षीय सम्झौता

बुधबार, असोज ७, २०८३

मसुरिया, ७ असोज -दाङको राप्ती गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच बुधबार सवारी साधन सहयोगसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

अन्तरपालिका सहयोग आदानप्रदान तथा सहकार्यको भावनालाई थप सुदृढ गर्ने उद्देश्यले राप्ती गाउँपालिकाले विद्युतीय सवारी साधन खरिदका लागि रुरुक्षेत्र गाउँपालिकालाई १० लाख रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको हो।

राप्ती गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णयअनुसार उक्त रकम उपलब्ध गराउने तथा रुरुक्षेत्र गाउँपालिकाले सो रकमबाट विद्युतीय सवारी साधन खरिद गर्ने गरी दुई पालिकाबीच सम्झौता गरिएको हो।

सम्झौताअनुसार सवारी साधन खरिदसम्बन्धी प्रक्रिया प्रचलित कानुनबमोजिम रुरुक्षेत्र गाउँपालिकाले अघि बढाउनेछ। खरिद गरिएको सवारी साधनको सम्पूर्ण कार्य तथा व्यवस्थापनसमेत रुरुक्षेत्र गाउँपालिकाले गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतामा राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी र प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक तथा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार कार्यसम्पन्न गर्ने अवधि २०८३ मंसिर मसान्तसम्म तोकिएको छ। खरिद गरिएको विद्युतीय सवारी साधनमा राप्ती गाउँपालिकाको सौजन्यमा सञ्चालित भएको स्पष्ट देखिने गरी उल्लेख गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

दुई स्थानीय तहबीच आपसी सहयोग, सहकार्य र अनुभव आदानप्रदानलाई प्राथमिकतामा राखी गरिएको सम्झौताले स्थानीय तहबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी