सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया,७ असोज - भारी वर्षाको सम्भावना रहेकाले दाङको राप्ती गाउँपालिकाले बाढी, पहिरो तथा डुबानको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाले बिहीबार जारी गरेको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको जानकारीअनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालका धेरै भूभागमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
गाउँपालिकाका अनुसार असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो तथा राप्ती नदीलगायत साना–ठूला नदी तथा खोलामा बाढी र कटानको जोखिम बढ्न सक्नेछ।
गाउँपालिकाले उक्त अवधिमा अत्यावश्यक कामबाहेक टाढा तथा रातिको यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्का समयमा स्थानीय सुरक्षा निकायसँग सम्पर्कमा रही सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यसैगरी पहिरोको जोखिम तथा नदी बहने क्षेत्रमा बसोबास गर्ने पालिकावासीलाई सुरक्षित स्थानमा रहन गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाले विपद्को समयमा आवश्यक सहयोग तथा समन्वयका लागि कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रवक्ता पहलमान चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहित गाउँपालिकाका सम्बन्धित अधिकारी, सुरक्षा निकाय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ।