राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत मल्लाहलाई स्वागत

शुक्रबार, असोज १६, २०८३

मसुरिया, १६ असोज - दाङको राप्ती गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहलाई स्वागत गरिएको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले शुक्रबार मल्लाहलाई फूलमालासहित स्वागत गर्नुभएको हो।

स्वागतका क्रममा कार्यवाहक अध्यक्ष चौधरीले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षाअनुसार विकास निर्माण, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर जनप्रतिनिधि तथा कर्मचारीबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मल्लाहले गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो। साथै, प्रशासनिक कामलाई चुस्तदुरुस्त बनाउँदै सुशासन र पारदर्शितालाई जोड दिने बताउनुभयो।WhatsApp-Image-2026-10-02-at-15.13.29-1790936246.jpegकार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलमान चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष दीपककुमार चौधरी र स्वास्थ्य शाखा प्रमुख नारायण राउतले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मल्लाहलाई स्वागत गर्दै उहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। 

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ७ का वडाध्यक्ष सीताराम चौधरी, अन्य कार्यपालिका सदस्य तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यसअघि राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत देविराम पाठकको प्यूठानको नौबहिनी गाउँपालिकामा सरुवा भएपछि मल्लाह राप्ती आउनुभएको हो। उहाँ यसअघि रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत हुनुहुन्थ्यो।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्