सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, २३ कात्तिक- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो। कर्णालीका पवन सर्राफले सर्वाधिक ३२, आरिफुल इस्लामले २४ र दीपक डुम्रेले २२ रन बनाए। पोखराका मेहदी हसनले तीन विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। पोखराका युवराज साम्राले आक्रामक शतक प्रहार गरे। उनले ४८ बलमा ६ छक्का र १० चौकासहित १०२ रन बनाए। कप्तान कुशल भुर्तेलले ६२ तथा चमिका करुणारत्नेले अविजित ३५ रनको योगदान दिए। कर्णालीका कप्तान सोमपाल कामीले दुई विकेट लिए।
युवराजको शतक एनपीएल इतिहासको चौथो तथा यस संस्करणको पहिलो शतक हो। पोखराले बनाएको २१७ रन प्रतियोगिताको इतिहासमा दोस्रो ठूलो योगफलसमेत हो।
यो जितसँगै पोखराले पाँच खेलबाट दुई अङ्क जोडेको छ। पोखरा तालिकाको पुछारमा छ भने लगातार तेस्रो हार बेहोरेको कर्णाली पाँच खेलमा चार अङ्कसहित सातौँ स्थानमा छ।
यसैबीच, आजै हुने दोस्रो खेलमा साँझ ५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।