सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २९ कात्तिक - दाङको घोराहीमा जुवातास खेलिरहेको अवस्थामा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीसहित १७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले शनिबार साँझ घोराहीका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कांग्रेस नेता तथा व्यवसायीसमेत रहेका छन्। दुई स्थानबाट प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको छ।
घोराही उपमहानगरपालिका–१५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा छापा मार्दा १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी ताससहित आठ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा घरधनी ६८ वर्षीय डाँगी, घोराही–१५ का केशरबहादुर पछाई, लुमासिंह बस्नेत, निमबहादुर पुन, गिरीराज केसी, घोराही–१४ का ओबिन्द्र महरा, घोराही–१६ का तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का हिरालाल रावत रहेका छन्।
त्यस्तैगरी घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा थप नौ जना पक्राउ परेका छन्। उक्त स्थानबाट प्रहरीले ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा नवलसिंह डाँगी, निमबहादुर भण्डारी, तुलबहादुर खड्का, रामकृष्ण खड्का, घरधनी बसन्त बुढाथोकी, यदुनाथ पाण्डे, हिमराज केसी, निमेश भण्डारी र चन्द्रदेव बुढा रहेका छन्।
पक्राउ परेका कांग्रेस नेता डाँगी यसअघि नेपाली कांग्रेस दाङको जिल्ला सभापति पदका उम्मेदवार हुनुका साथै २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुख र २०७९ सालमा उपप्रमुख पदका उम्मेदवार बनेका थिए। दुवै निर्वाचनमा उनी पराजित भएका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।