Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

महिला एसिया कप : आज नेपाल पाकिस्तानको भिडन्त

आइतबार, साउन ६, २०८१

दाङ - एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुँदैछ।

नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ।

प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्।

समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

नेपाली टिम

नेपाली महिला एसिया कप टोलीको कप्तानी इन्दु बर्माले गरेकी छन्। नेपाली टिममा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

तेस्रो पटक एसिया कप खेल्दै नेपाल

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
समाचार