Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनलाई तीन विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

बिहीबार, मंसिर ३, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ,३मंसिर - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा १३५ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा सात विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेले महत्वपूर्ण योगदान दिए । उनले ४१ बलमा अर्धशतक पूरा गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए । रत्नायकेले कठिन अवस्थामा धैर्यपूर्ण ब्याटिङ गर्दै सर्वाधिक रन बनाए ।

१३५ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो । जर्ज मुन्से ८, विनोद भण्डारी २३, इसन पाण्डे १०, स्कट कुगलेन २ र कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट भए । आरिफ शेखले पनि १० रन मात्रै बनाउन सके ।

अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक हुँदा सुदूरपश्चिम दबाबमा परेको थियो । कामिल मिसाराले गरेको अन्तिम ओभरमा फ्याबियन एलेन पाँच रन बनाएर आउट भए । दुई बलमा दुई रन चाहिएको अवस्थामा क्रिजमा आएका दीपक बोहराले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रन बनाएको थियो । चितवनका डेभिड मलानले सर्वाधिक ७१ रन बनाए । सलाउद्दिन खानले १८ रन जोडे ।

सुदूरपश्चिमका स्कट कुगलेनले तीन तथा थरिन्दु रत्नायकेले दुई विकेट लिए ।

जितसँगै सुदूरपश्चिमले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको छ । अब फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  २२:४४
प्रतिक्रिया दिनुहोस्