Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पत्रकारिता सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

शनिबार, फागुन १७, २०८१

दाङ,१७ फागुन - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका-देउखुरीमा शनिबार सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले स्थापना कालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नु भयो ।

‘पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको छ’, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं ।’

उहाँले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिवद्धता जनाउनु भयो ।‘प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौं’, उहाँले थप्नुभयो,‘पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौं ।’

त्यस्तैगरी मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भयो । ‘सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ। अराजकता फैलाउने छुट कसैलाई छैन’, उहाँले भन्नुभयो,‘पत्रकारिता क्षेत्रमै विकृति र विसंगति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ ।’

कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै, चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
समाचार