Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीमा शिक्षकहरूका लागि सञ्चालित निःशुल्क वाद्यवादन तालिम सम्पन्न

सोमबार, फागुन १९, २०८१

भालुबाङ - दाङको राप्ती गाउँपालिकामा शिक्षकहरूका लागि सञ्चालन गरिएको निःशुल्क वाद्यवादन तालिम शनिबार सम्पन्न भएको छ।

एक सातासम्म सञ्चालन गरिएको उक्त तालिमपछि शिक्षकहरू निकै उत्साहित भएका छन्। शैक्षिक सिकाइ क्रियाकलापलाई अझ प्रभावकारी बनाउँदै शैक्षिक उपलब्धि वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।rapti-1740964801.jpg
तालिम समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले शिक्षकहरूले सिकेका सीपलाई विद्यालयमा व्यवहारिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। सिमित स्रोतसाधनका बाबजुद पनि पालिकाले यो तालिम प्रदान गरेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई सिकाइ हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, उपाध्यक्ष चौधरीले पछिल्लो समय विद्यालयका कार्यक्रमहरूमा डिजेको प्रयोग बढ्दै गएको भन्दै अब तालिमपछि विद्यालयका सबै सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरूमा मौलिक कला, संस्कृति तथा नेपाली गीतसंगीतको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले संगीत पाठ्यक्रममै समावेश विषय भएकाले शिक्षकहरूले सिकेका कुराहरू पठनपाठनमा अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो। बालबालिकाहरू संगीतप्रति बढी रुचि राख्ने भएकाले रमाइलो सिकाइ वातावरण सिर्जना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

विगतमा बजेट अभावका कारण यस्ता कार्यक्रम सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै शाखा प्रमुख विकले आगामी दिनमा थप तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।

तालिमका प्रशिक्षक बेदुलाल सुवेदीले शिक्षकहरूलाई सक्दो ज्ञान प्रदान गरेको बताउँदै कुनै जिज्ञासा भए फोनमार्फत पनि सोध्न सकिने बताउनुभयो।

तालिममा सहभागी शिक्षक कृष्णबहादुर बुढा मगर र शिक्षिका विमला भट्टराईले तालिम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो।

गाउँपालिकाका २७ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षक-शिक्षिकाहरू सहभागी उक्त तालिममा हार्मोनियम, मादल र गितार बजाउने प्रशिक्षण प्रदान गरिएको थियो। तालिम पश्चात विद्यालयहरूलाई निःशुल्क रूपमा वाद्यवादनकका सामग्रीहरू समेत वितरण गरिएको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
समाचार