Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

मुलुकलाई समृद्ध बनाउन सरकार र निजी क्षेत्र बीच सहकार्य हुन आवश्यक छ : अध्यक्ष विष्ट

शुक्रबार, चैत २२, २०८१

देउखुरी २२ चैत - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मुलुकलाई समृद्ध बनाउन सरकार र निजी क्षेत्रबीच आपसी सहकार्य अनिवार्य रहेको बताउनु भएको छ।eK2PwXPD-1743783279.jpg
शुक्रबार राप्ती गाउँपालिका–५, सिसहनियाँमा सिसहनियाँ उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८२ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो विमोचन गर्दै अध्यक्ष विष्टले निजी क्षेत्रले उद्योग र पर्यटनमा लगानी बढाए मात्र स्वदेशमै रोजगारीको अवसर सिर्जना हुन सक्ने धारणा व्यक्त गर्नुभयो।

“निजी क्षेत्रको योगदान बिना समृद्धि सम्भव छैन, उद्योग र व्यापारलाई प्रोत्साहित गर्न सरकार र निजी क्षेत्र बीच सहकार्यमा हुन आवश्यक छ,” अध्यक्ष विष्टले भन्नुभयो ।

उहाँले खुल्ला तथा झोले व्यापारीहरूको नियमनका लागि स्थानीय सरकारले आवश्यक तत्परता देखाउने समेत बताउनुभयाे। साथै, सिसहनियाँ उद्योग वाणिज्य संघले हाल गरिरहेका उद्योगी तथा व्यापारीमैत्री कार्यको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई धन्यवाद समेत दिनुभयो।

संघका अध्यक्ष ईश्वरप्रसाद अधिकारीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  संघले प्रकाशित गरेको तीन पृष्ठको भित्तेपात्रो विमोचन गरिएको थियो।

संघले विगतका वर्षहरू जस्तै यस वर्ष पनि व्यापारी, विज्ञापनदाता, संघसंस्था तथा कार्यालयहरूलाई निशुल्क रुपमा भित्तेपात्रो वितरण गर्ने जनाएको छ।

कार्यक्रममा राप्ती गाउँपालिका–५ का वडाध्यक्ष देवप्रसाद चौधरी, संघका पूर्वअध्यक्ष पूर्णबहादुर बुढाथोकी, विभिन्न सहकारी तथा संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, शिक्षक तथा संघका पदाधिकारीहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव प्रशान्त बसेलले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
समाचार