सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ, १५ बैशाख - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो । अस्पतालहरूलाई पूर्वाधार सम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापनसहित उपकरण र सेवा प्रवाहलाई चुस्त बनाउने गरी सरकार अघि बढेको उल्लेख गर्नुभयो । दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताउनुभयो ।
नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा आउने विशेषज्ञ चिकित्सकलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पार्नुभयो । ‘सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने तर अन्य अस्पतालहरूमा जनशक्ति नहुने अवस्थालाई अन्त्य गर्न चाहन्छौं’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ‘सरकारले यस्ता समस्यालाई गम्भीर रूपमा लिन्छ र सुधारका लागि पहल गर्छौं ।’
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको जानकारी गराउनुभयो ।