Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

“इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय हुनुहुन्छ” - सभामुख घर्ती मगर

मंगलबार, जेठ १३, २०८२

भालुबाङ, १३ जेठ -  लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शहीद कृष्णसेन इच्छुकलाई केवल माक्र्सवादी साहित्यकार, पत्रकार र संस्कृतिकर्मीका रूपमा मात्र नभएर एक क्रान्तिकारी नेताका रूपमा पनि स्मरण गर्नुपर्ने बताउनुभएको छ।

राप्ती प्रेस मञ्चको आयोजनामा राप्ती गाउँपालिका–१, भालुवाङ पुलचोकस्थित इच्छुक चाेकमा आयोजित २३औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सभामुख घर्तीले यस्तो बताउनुभएको हो।

सभामुख घर्तीले भन्नुभयो, “शहीद इच्छुकको कलमले विचार जन्मायो, साहित्य र पत्रकारितामार्फत जनचेतना फैलायो, तर उहाँको भूमिकालाई केवल पत्रकारितासम्म सीमित गर्न मिल्दैन। उहाँ एक क्रान्तिकारी नेताका रूपमा नेपाली जनआन्दोलनको अभिन्न अंग हुनुहुन्थ्यो।”

उहाँले इच्छुकको योगदानलाई संस्थागत रूपमा स्मरण गर्न र भावी पुस्तालाई उहाँको विचारबाट परिचित गराउन देउखुरीस्थित शालिक क्षेत्रलाई शहीद पार्कको रूपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। “उहाँको स्मृतिस्वरूप सिर्जनात्मक संरचना र विचारको अभ्यास दुबै आवश्यक छन्,” घर्तीले जोड दिनुभयो।

पत्रकारितामा सत्य, साहस र प्रतिबद्धताको मार्ग अपनाउनुपर्ने सन्देश दिँदै उहाँले थप्नुभयो, “देशको पक्षमा कलम चलाउन डराउनु हुँदैन, इच्छुकको बाटो त्यही हो।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, वरिष्ठ कवि अहम्मद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारीलगायत वक्ताहरूले पनि इच्छुकको योगदानको स्मरण गर्दै उहाँका आदर्शहरूलाई पछ्याउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता, महासचिव ओमप्रकाश गुप्ताको स्वागत मन्तव्य र वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा इच्छुकका समकालीन मित्र, पत्रकार, साहित्यकार, उद्योगी, व्यवसायी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
समाचार