राप्तीमा प्रेमस्मृति कप क्रिकेट प्रतियोगिता सुरु

आइतबार, जेठ १८, २०८२

सिसहनियाँ - दाङको राप्ती गाउँपालिका–५, पहरुवामा स्व. प्रेम राना मगरको स्मृतिमा प्रेमस्मृति कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिता स्व. राना मगरका साथीहरूको पहलमा आयोजना गरिएको हो।WhatsApp-Image-2025-05-31-at-10.14.19-PM-1748747330.jpegप्रतियोगिताको उद्घाटन स्व. राना मगरका पिता छविलाल राना मगरको अध्यक्षतामा तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्व. प्रेम राना मगरको असामयिक निधनले खेलकुद क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो। उहाँले युवाहरूले खेलकुदमार्फत उहाँको स्मृतिलाई जगेर्ना गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले आपसी भाइचारा सुदृढ गर्ने र युवा पुस्तालाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष विष्टले भन्नुभयो, “खेलकुदमा सफलताको लागि सहकार्य र समन्वय आवश्यक हुन्छ, र देशको विकासका लागि पनि युवाबीच त्यस्तै एकता र समन्वय अपरिहार्य छ। भविष्यमा प्रेम रानाको नाममा स्मृति प्रतिष्ठान वा क्लब गठन गरी उहाँका सपनालाई अगाडि बढाउन आवश्यक छ।”WhatsApp-Image-2025-05-31-at-10.14.20-PM-(1)-1748747364.jpegराप्ती गाउँपालिका–५ कमलरोड निवासी  स्व. राना मगरको गत वर्ष मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।

प्रतियोगितामा दाङ जिल्लाका विभिन्न स्थानीय तहबाट १३ टिमको सहभागिता रहेको छ। आयोजक समितिका संयोजक घनश्याम पोखरेलका अनुसार, विजेता टिमलाई ५० हजार रुपैयाँ नगद सहित कप,ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले २५ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट ब्याट्सम्यान, बलर तथा विकेटकिपरलाई पनि विशेष पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजक समितिले समुदायमा खेलकुदको माध्यमबाट युवा सहभागिता वृद्धि गर्ने र सकारात्मक सोच प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्