सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही ,२२ जेठ - प्रेस स्वतन्त्रताको रक्षा तथा श्रमजीवी पत्रकारको हकहित सुनिश्चित गर्न प्रेस सेन्टर नेपाल, दाङ शाखाले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालमार्फत सरकारलाई १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष जनक नेपालीको नेतृत्वमा गएको टोलीले बिहीबार पाँचौँ जिल्ला अधिवेशनपछि निरन्तर पत्रकारको अधिकार र सुरक्षाका पक्षमा सक्रिय रहेको प्रेस सेन्टरले पछिल्लो समय दाङलगायत देशभर बढ्दै गएको प्रेस स्वतन्त्रता हननप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राज्य र गैर–राज्य पक्षबाट पत्रकारमाथि भइरहेको आक्रमण, सञ्चारगृहमा भएको क्षति र पेशागत असुरक्षाका घटनाले संविधानद्वारा सुनिश्चित पूर्ण प्रेस स्वतन्त्रताको हनन भइरहेको उल्लेख गरिएको छ।
प्रेस सेन्टरले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको कथित राजावादी समूहद्वारा जिउँदै जलाएर हत्या गरिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, रजकलाई शहीद घोषणा गरी उनका परिवारलाई राहत प्रदान गर्न आग्रह गरिएको छ।
त्यस्तै, महान शहीद कृष्ण सेन ’इच्छुक’ लगायत परिवर्तनको पक्षमा कलम चलाउने पत्रकारहरूको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा राज्यबाट बेपत्ता पारिएका पत्रकारहरूको अवस्थाबारे सार्वजनिक गर्न माग गरिएको छ ।
प्रेसमैत्री नीतिहरू तत्काल निर्माण गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानूनी प्रावधान हटाउन, सरोकारवालाको समावेशी सहभागिताबाट मात्र सञ्चारसम्बन्धी कानून निर्माण गर्न पनि प्रेस सेन्टरले जोड दिएको छ । श्रमजीवी पत्रकार ऐन २०५२ को पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक लागू, प्रेस रजिस्ट्रारको कार्यालय स्थापना, पत्रकार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकार वृत्ति कोषमा सहज पहुँच, लोककल्याणकारी विज्ञापनमा वृद्धि, बीमा, स्वास्थ्य सेवा, सञ्चार सामग्रीमा कर छुट, मिडिया दर्ता प्रक्रिया सरलीकरण, र सीमान्तकृत समुदायका मिडियालाई प्रोत्साहनलगायतका मागहरू ज्ञापनपत्रमा समावेश छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितामाथि भइरहेका प्रहार रोक्न र प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने कानूनी संरचना निर्माण गर्न पनि प्रेस सेन्टरले सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझाउन अध्यक्ष नेपालीसँगै केन्द्रिय उपमहासचिव लक्ष्मी आचार्य, नेता नरेन्द्र केसी, पुरन शर्मा लगायतको उपस्थिति थियो ।