सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया - दाङको राप्ती गाउँपालिका–४ मा क्षयरोग निवारणका लागि दुई दिने वडा स्तरीय सूक्ष्म योजना निर्माण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ। “हो, हामी क्षयरोग अन्त्य गर्छौँ” भन्ने नारासहित सञ्चालित उक्त कार्यक्रम क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको हो।
कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा राप्ती गाउँपालिकाका लागि क्षयरोगमुक्त अभियान नेपालकी संयोजक प्रतिमा विष्टले जोखिम समूहको पहिचान, प्रभावकारी परीक्षण तथा उपचार, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तार र सूक्ष्म योजना निर्माणका आधारभूत पक्षहरूबारे जानकारी दिनु भएको थियो। उहाँका अनुसार, सूक्ष्म योजना निर्माणको क्रममा वडा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता, जनसांख्यिक विवरण, क्षयरोगसम्बन्धी विवरण सङ्कलन, उपलब्ध स्वास्थ्य जनशक्तिको विवरण तथा क्षयरोगको जोखिम समूहको पहिचानजस्ता विषयलाई प्राथमिकताका साथ समेटिनेछ।
कार्यक्रममा वडा सदस्यहरू, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संयोजक विष्टका अनुसार सोही कार्यक्रम वडा नम्बर १ मा सम्पन्न भइसकेको छ भने वडा नम्बर ६ मा असार ५ गते सञ्चालन गरिनेछ।