दंगीशरणमा २२औं धान दिवस विशेष कार्यक्रमका साथ सम्पन्न, जैविक मल उद्योग स्थापनाको तयारी

आइतबार, असार १५, २०८२

दंगीशरण, १५ असार - धान वालिमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ दंगीशरण गाउँपालिकाले २२औं राष्ट्रिय धान दिवस विशेष कार्यक्रमसहित मनाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँपालिका कृषि विकास शाखा कार्यालय हेकुलीको आयोजनामा र हिमाल कृषक समूह दंगीशरण–६ को समन्वयमा वडा नं. ६ को नयाँ बस्तीमा धान रोपेर दिवस मनाइएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीसहित विभिन्न शाखाका कर्मचारी, किसान तथा कृषि अगुवाहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा अध्यक्ष गिरीले रासायनिक मलको अभावबीच अब जैविक र प्राङ्गारिक मलतर्फ मोडिनुपर्ने आवश्यकता औंल्याउँदै जैविक मल उद्योग स्थापनाको तयारी भइसकेको जानकारी दिए। उनले नीति तथा कार्यक्रममै यसलाई समेटी बजेट समेत विनियोजन भइसकेको बताए।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले धान दिवसलाई किसानको महान् पर्वका रूपमा उल्लेख गर्दै खेतमै पसिना बगाएर समृद्धिको बीउ रोप्ने परम्परालाई जीवित राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कृषि सञ्जाल दंगीशरणका अध्यक्ष रविन्द्र चौधरी, वडा नं. ६ का वडा सदस्य कान्छुराम चौधरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए।

कार्यक्रम हिमाल समूहका अध्यक्ष दल बहादुर बुढाथोकीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्