Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

‘देश मजाकमा चलाउने होइन’— गठबन्धन चर्चामाथि जनक पुनको तीव्र टिप्पणी

आइतबार, पुस २०, २०८२

रोल्पा,२० पुष - नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका सभापति तथा गाउँपालिका अध्यक्ष जनक पुनले पछिल्लो समय चर्चामा रहेको कांग्रेस, एमाले र माओवादीबीचको सम्भावित गठबन्धनप्रति कडा आपत्ति जनाउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त चर्चालाई राजनीतिक मजाकको संज्ञा दिनुभएको हो।

पछिल्लो समय बजारमा तीन प्रमुख दलबीच गठबन्धन बन्न सक्ने चर्चा चलिरहेका बेला अध्यक्ष पुनले यस्तो गतिविधिले देश र जनताको भावनामाथि खेलवाड गरेको टिप्पणी गर्नुभएको छ। उहाँले गठबन्धनको चर्चा केवल बजारमा चलेको हल्ला मात्र नभई कांग्रेस सभापति शेरबहादुर देउबा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचाइमै मजाक झल्किएको आरोप लगाउनुभएको छ।

“देश मजाकमा चलाउने विषय होइन,” भन्दै अध्यक्ष पुनले राजनीतिक नेतृत्वले जिम्मेवार, गम्भीर र राष्ट्रमुखी सोच देखाउनुपर्ने उल्लेख गर्नुभएको छ। यस्ता गठबन्धनका चर्चाले जनतामा भ्रम फैलाउने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि नकारात्मक असर पार्ने उहाँको भनाइ छ।

उहाँले मातहतका पार्टी कार्यकर्ता, सचेत वर्ग तथा आम नागरिकलाई यस्ता राजनीतिक मजाकविरुद्ध बोल्न र उठ्न आह्वान गर्दै देशको भविष्यलाई गम्भीरतापूर्वक लिन नेतृत्व तहलाई आग्रह गर्नुभएको छ। राजनीतिक अस्थिरता र स्वार्थ केन्द्रित गतिविधिले मुलुकलाई थप अन्योलतर्फ धकेल्ने खतरा रहेको चेतावनीसमेत दिनुभएको छ।

अध्यक्ष पुनको उक्त फेसबुक पोस्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ भने सम्भावित गठबन्धनबारे राजनीतिक बहस अझ चर्किने संकेत देखिएको छ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
समाचार