Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आन्तरिक पर्यटकहरुको रोजाइमा बंगलाचुली लेक

सोमबार, पुस २८, २०८२

दाङ,२८ पुष - दाङ जिल्लाको पहाडी भू–भागमा अवस्थित बंगलाचुली गाउँपालिका–५ मा रहेको बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। शान्त वातावरण, प्राकृतिक सौन्दर्य र गाउँले जीवनको नजिकबाट अनुभव गर्न सकिने भएकाले यो लेक विशेष गरी आन्तरिक पर्यटकका लागि घुम्नैपर्ने स्थलका रूपमा विकास हुँदै गएको हो।

हरियाली डाँडाकाँडाबीच अवस्थित बंगलाचुली लेक प्राकृतिक रूपमा बनेको रमणीय स्थान हो।लेक वरपर फैलिएको हरियाली, स्वच्छ हावा, खुला आकाश, शान्त वातावरण र उत्तरतर्फ देखिनरे हिम श्रीङ्खलाले शहरको भीडभाड र कोलाहलबाट केही समय टाढा शान्ति खोज्ने आन्तरिक पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ। बिहान र साँझको समयमा लेकबाट देखिने घामको प्रतिबिम्बले यहाँ आउने पर्यटकलाई फरक अनुभूति दिलाउने गर्छ।

किन आन्तरिक पर्यटकका लागि बंगलाचुली लेक उपयुक्त ?

दाङको बंगलाचुली गाउँपालिका र प्युठानको माण्डवि गाउँपालिकामा रहेको बंगलाचुली लेक छोटो समयको यात्रामै पुग्न सकिने, खर्चिलो नभएकोले आन्तरिक पर्यटकका लागि निकै उपयुक्त मानिन्छ। परिवार, साथीभाइ, विद्यार्थी समूह तथा संघ–संस्थाका टोलीहरूका लागि पिकनिक, घुमफिर र विश्राम गर्न तथा विदाको समय सदुपयोग गर्न यो स्थान अनुकूल छ। यहाँ महँगो होटल वा लक्जरी सेवा नभए पनि प्राकृतिक वातावरणमै रमाउन सकिने भएकाले आन्तरिक पर्यटकले वास्तविक गाउँको स्वाद लिन पाउँछन्।

त्यसैगरी, लेक वरपरको शान्त वातावरणमा फोटो खिच्ने तथा प्रकृतिसँग समय बिताउन चाहने पर्यटकका लागि पनि आकर्षक बनेको छ। पछिल्लो समय स्थानीय सरकार र समुदायको पहलमा लेक क्षेत्रको सरसफाइ, विश्रामस्थल तथा पिकनिक क्षेत्रको विकास हुँदै जाँदा यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा रहेको स्थानीयवासीले बताउँछन्। दाङ जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट पनि पर्यटक आउने क्रम बढेको छ।

यद्यपि, लेकलाई अझ व्यवस्थित पर्यटन गन्तव्य बनाउन सडक पहुँच, सूचना बोर्ड, शौचालय, खानेपानी तथा वातावरण संरक्षणमा थप ध्यान दिन आवश्यक देखिन्छ।

समग्रमा दाङको बंगलाचुली गाउँपालिका–५ मा अवस्थित बंगलाचुली लेक शान्ति, प्राकृतिक सौन्दर्य र गाउँले जीवनको अनुभव खोज्ने आन्तरिक पर्यटकका लागि घुम्नैपर्ने गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। उचित व्यवस्थापन र प्रवर्द्धन गर्न सकिएमा यस क्षेत्रले आन्तरिक पर्यटनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यदपि, बंगलाचुली लेकसम्म पुग्ने क्रममा सडकको दयनीय अवस्था मुख्य चुनौतीका रूपमा देखिएको छ। विशेषगरी सिमेन्ट उद्योगका कच्चा पदार्थ बोक्ने टिपरहरू सञ्चालन हुने सडक खण्डमा पर्याप्त व्यवस्थापन नहुँदा समस्या बढेको स्थानीयवासी तथा पर्यटकहरूको गुनासो छ। वर्षायाममा सडक अत्यधिक हिलो हुने र सुक्खा मौसममा धुलो उड्ने समस्या रहँदा पर्यटकलाई आवतजावत गर्न भने कठिनाइ हुने गरेको छ।

खराब सडकका कारण सवारी साधन सञ्चालनमा जोखिम बढ्नुका साथै पर्यटकको यात्राअनुभव समेत प्रभावित हुने गरेको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य भएपनि सडक पूर्वाधार कमजोर हुँदा अपेक्षित संख्यामा पर्यटक पुग्न नसकेको सरोकारवालाहरूको भनाइ छ। सडक सुधार, टिपर सञ्चालनको व्यवस्थापन र धुलो–हिलो नियन्त्रणका उपाय अवलम्बन गर्न सकिएमा बंगलाचुली लेकसम्म पुग्ने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ।साथै यलाई थप व्यवस्थित र प्रवर्दन गर्न सकेमा यस क्षेत्रले स्थानीय रोजगारी, व्यवसायलाई थप टेवा पुर्र्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
समाचार