सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही,३ माघ - नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन मजबुत बनाउन र मतदातासम्म प्रभावकारी रूपमा पुग्ने तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
शनिवार घोराहीमा सम्पन्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन तयारी बैठकमा प्रमुख अतिथिका रूपमा बोल्दै आचार्यले संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन संगठनात्मक संरचना सुदृढ गर्नुका साथै जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उम्मेदवारका आकांक्षी समेत रहनुभएका उहाँले पार्टीको नीति, विचार र कार्यक्रमलाई घर–घरमा पुर्याउन सबै तहका नेता तथा कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
क्षेत्रीय संयोजक गजेन्द्रसिंह खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित पार्टीका तर्फबाट संघीय निर्वाचनका समानुपातिक उम्मेदवार भिम कुमारी बुढा र सस्मति चौधरीले आफूहरू निरन्तर रूपमा यही क्षेत्रको विकास तथा अन्य काममा सक्रिय रहेको दाबी गर्नुभयो। उहाँहरूले पार्टीभित्रबाट आफूहरू अनुमोदित भइसकेको र अब जनताबाट अनुमोदित हुने चरणमा रहेको बताउँदै पार्टीका सबै उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
यस्तै, बैठकमा उपस्थित पार्टीका केन्द्रीय सदस्यहरू गिरिराज केसी, रामबहादुर दहित, तुल्सीराम पुन, हरिमान पुन, धुव्र आचार्य, अजयदीप शर्मा, रामप्रसाद चौधरी, भूपबहादुर केसी लगायतले पार्टी संगठन अहिले तल्लो तहसम्म बलियो र एकताबद्ध बन्दै गइरहेको उल्लेख गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले संघीय निर्वाचनका लागि उम्मेदवार दर्ताको समय यही माघ ६ गते रहेकाले सो दिन हजारौं नेता–कार्यकर्ता उपस्थित हुने जानकारी पनि दिनुभयो।
यस्तै, बैठकमा सहभागी कार्यकर्ताहरूले जनताको भावना र आवश्यकता बुझेर अघि बढ्न नेताहरूलाई आग्रह गरेका थिए। उनीहरूले विगतमा नेताहरूबाट भएका गल्ती र कमजोरीलाई सच्याउँदै जनतासँग क्षमायाचना गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, जनता तथा नेता–कार्यकर्तामाझ प्रत्यक्ष पुगेर उनीहरूका समस्या र गुनासाहरूको समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश सदस्य प्रमिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन राजबहादुर परियारले गर्नुभएको थियो। साभार खाेजरफ्तार