कांग्रेसले दाङ–१ मा योगेन्द्र चौधरी र दाङ–२ मा किरण किशोर घिमिरेलाई उम्मेदवार बनायो

मंगलबार, माघ ६, २०८२

दाङ,६ माघ - नेपाली कांग्रेसले दाङको क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ।चौधरी विशेष महाधिवेशनमा थारू क्लस्टरबाट सहमहामन्त्री बनेका थिए। त्यसअघि उनी शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य थिए। चौधरीलाई कांग्रेसले पछिल्लो समय क्रियाशील सदस्यता छानबिन समितिको सदस्य बनाएको थियो। गत भदौमा मात्रै चौधरी थारू विभागका प्रमुख बनाइएका थिए।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

थरूहट नेताको रूपमा पहिचान बनाएका चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य बनेका थिए। पार्टी समायोजनका क्रममा उनी कांग्रेस प्रवेश गरेका थिए।यो क्षेत्रमा लगातार दुई पटक पूर्व मन्त्री मेटमणि चौधरी निर्वाचित हुँदै आएका छन्। पछिल्लो समय मेटमणिलाई नेपाली कम्युनिस्ट पार्टीले टिकट दिएको छ ।

त्यस्तैगरी दाङको क्षेत्र नम्बर २ मा किरण किशोर घिमिरे उम्मेदवार बनाइएका छन्। घिमिरे पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन्।
यो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) महासचिव शंकर पोखरेल पनि उम्मेदवार छन्। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य लगायत मैदानमा ओर्लिएका छन्।

त्यस्तै दाङको क्षेत्र नम्बर ३ मा कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन बाँकी छ। यहाँ पूर्व मन्त्री दीपक गिरी, केन्द्रिय सदस्य केशब आचार्य र जिल्ला पार्टी सभापति शंकरप्रसाद डाँगीमध्ये एक जनाले टिकट पाउने सम्भावना रहेको स्रोतले बताएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०५:३८
प्रतिक्रिया दिनुहोस्
समाचार