दंगीशरण–५ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय उद्घाटन, १५१ सदस्यीय प्रचार समिति गठन

बिहीबार, माघ १५, २०८२

दंगीशरण,१५ माघ  - “नयाँ सोच, नयाँ अठोट—यसपालिको निर्वाचनमा रुख चिन्हमा भोट” भन्ने मूल नाराका साथ आसन्न फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस दंगीशरण गाउँपालिका–५ ले सम्पर्क कार्यालयको उद्घाटन गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बिहीबार आयोजित भव्य औपचारिक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशव राज आचार्यले ब्यानर पढेर सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो। कार्यक्रम नेपाली काँग्रेस दंगीशरण–५ का वडा सभापति विश्वमणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशव राज आचार्य प्रमुख अतिथि तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका क्रममा हालै नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित केशव राज आचार्यलाई बधाई ज्ञापन गर्दै सम्मानसमेत गरिएको थियो। साथै पार्टीका जिल्ला सदस्य, क्षेत्रीय पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमले वडा सभापति विश्वमणि देवकोटाको संयोजकत्वमा १५१ सदस्यीय वडा स्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णयसमेत गरेको छ। समितिले फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान, मतदाता भेटघाट र प्रचारात्मक गतिविधिहरूलाई तीव्रता दिने जनाइएको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्