Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

टी–२० विश्वकपमा नेपाललाई इटालीले १० विकेटले पराजित

बिहीबार, माघ २९, २०८२

काठमाडाै,२९ माघ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । टी-२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो । इटालीका एन्थोनी मोस्काले ६२, जस्टिन मोस्काले ६० रन बनाए । एन्थाेनी र जस्टिन दाजुभाइ हुन् ।

यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो । नेपालका आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाए । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए ।

आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन् । उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन् ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।

यस्तै पहिलो पटक विश्वकप खेलेको इटालीको यो पहिलो जीत हो । इटाली पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो ।

यो जीतसँगै इटाली समूह ‘सी’ मा तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल पुछारमा झरेको छ । याेसँगै नेपाल समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेकाे छ । अब नेपालले तेस्राे खेलमा वेस्ट इन्डिज र अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्न बाँकी छ ।

टी–२० विश्वकपमा आज भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको छ । आजै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्