Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

टी–२०  विश्वकपमा नेपालको सान्त्वना जित

बुधबार, फागुन ६, २०८२

काठमाडौँ,६ फागुन - टी२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षदेखिको जितको खडेरी तोडेको छ ।

 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालका लागि आज दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी नायक बने। ऐरीले २३ बलमा अविजित अर्धशतक प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए। कामीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएर स्कटल्यान्डलाई दबाबमा राखेका थिए ।

ओपनिङमा कुशल भुर्तेलले ३५ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए भने आशिफ शेखले २७ बलमा ३३ रन बनाए। कप्तान रोहित पौडेलले १४ बलमा १६ रन जोडे। मध्यक्रममा गुल्सन झाले १७ बलमा २४ रन बनाउँदै टोलीलाई सन्तुलन प्रदान गरे।

खेलको निर्णायक मोडमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले पालैपालो तीन छक्का प्रहार गर्दै रनरेट बढाएपछि नेपाल खेलमा मजबुत अवस्थामा पुगेको थियो ।

सोमपालले उत्कृष्ट प्रदर्शन गरे । आज उनले ४ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । विशेषगरी १६औं ओभरमा उनले ब्रान्डन म्याकलन र माइकल जोन्सलाई लगातार आउट गर्दै खेलमा महत्त्वपूर्ण मोड ल्याएका थिए । नन्दन यादवले पनि किफायती बलिङ गर्दै २ विकेट लिए । कुशल भुर्तेल र कप्तान रोहित पौडेलले समान १–१ विकेट हात पारे । सन्दीप लामिछानेले ३ ओभरमा २९ रन खर्चिए भने दीपेन्द्र सिंह ऐरीले ३ ओभरमा २३ रन दिए ।

नेपालले सन् २०१४ देखि टी-२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । उक्त संस्करणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बंगलादेशसँग हार व्यहोरेको थियो । त्यसयता सन् २०२४ को संस्करणमा सहभागी भए पनि नेपालले जित निकाल्न सकेको थिएन ।

यस जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा ऐतिहासिक सफलता हात पारेको छ ।

यद्यपि नेपाल र स्कटल्यान्ड जारी प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्
समाचार