Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
दाङ निर्वाचन क्षेत्र नम्बर २

निर्मल आचार्यको प्रतिबद्धतापत्र सार्वजनिक

शुक्रबार, फागुन १५, २०८२

दाङ,१५ फागुन - दाङ निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

घोराहीमा आयोजित कार्यक्रममा उहाँले ‘सुशासन, सामाजिक न्याय र समृद्ध दाङ हाम्रो अभियान’ भन्ने मूल नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्दै तारा चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनअपेक्षाअनुसार परिणाम नआएको उल्लेख गर्दै उहाँले अब विकासलाई नारामा होइन, व्यवहार र परिणाममा देखिने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुशासन र पारदर्शी प्रशासन

उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने, सार्वजनिक सेवालाई फेसलेस, पेपरलेस र क्यासलेस बनाउने, सबै सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, ई–फाइल प्रणाली लागू गर्ने र बिचौलियामुक्त प्रशासन सुनिश्चित गर्ने बताउनुभयो । स्थानीय तहमा गुनासो सुनुवाइ एकाइ स्थापना, मेरिटोक्रेसीका आधारमा नियुक्ति, सूचना प्रविधिमैत्री सेवा प्रवाह र टोल विकास संस्थामार्फत योजनामा जनसहभागिता सुनिश्चित गरिने उल्लेख गर्नुभयो ।

शिक्षा र मानव संसाधन विकास

कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय र प्रविधियुक्त शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न पहल गर्ने बताउनुभयो । बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय लाई पूर्वीय दर्शन अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई बहुविशेषज्ञ सेवासहितको उत्कृष्ट चिकित्सा शिक्षाको केन्द्र बनाउने, घोराही इन्जिनियरिङ कलेज सञ्चालन गर्ने, वन तथा कृषि क्याम्पस स्थापना गर्ने, आयुर्वेदिक अध्ययन संस्थालाई विश्वविद्यालयमा रूपान्तरण गर्ने, ब्रह्मकुमारी विश्वविद्यालयलाई योग–ध्यान केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभयो । प्रत्येक वडामा नमूना विद्यालय स्थापना, मातृभाषामा पठनपाठन, सहिदस्मृति विद्यालय सुदृढीकरण, गुरुकुल–मदरसा–गुम्बा शिक्षालाई व्यवस्थित गर्ने तथा ‘स्वयंसेवक विज्ञ’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

स्वास्थ्य सेवा विस्तार

स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवासहित अस्पताल स्तरोन्नति, सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार, गर्भवती तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स, प्रत्येक वडामा स्वास्थ्य चौकी स्तरोन्नति, विद्यालयमा नर्स र मनोपरामर्श सेवा, गाउँ–नगर फार्मेसी सञ्चालन, बंगलाचुली अस्पताललाई नमूना अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कृषि, पूर्वाधार र आर्थिक विकास

कृषि क्षेत्रमा सिँचाइ विस्तार, मल–बीउको सुनिश्चितता, कृषि प्राविधिकको व्यवस्था, ब्याज अनुदानमा ऋण, ‘एक वडा, एक नमूना उत्पादन’, घुम्ती शीत भण्डारण, मह प्रशोधन केन्द्र स्थापना र दाङको मह ब्राण्डिङ, पशुपालन र माछापालनमा विद्युत महसुल छुट, कृषि एम्बुलेन्स सञ्चालन, न्यूनतम समर्थन मूल्य निर्धारण, बबई नदी तटबन्ध तथा हरित करिडोर निर्माण गरिने उल्लेख गर्नुभयो ।

पूर्वाधार विकासतर्फ दाङ उपत्यका विकास प्राधिकरण गठन, चार लेन सडक विस्तार, ग्रामीण सडक कालोपत्रे, वैकल्पिक औद्योगिक मार्ग निर्माण, विमानस्थल व्यवस्थापन, सबै घरमा विद्युत र खानेपानी, थ्रीफेज लाइन विस्तार, सार्वजनिक शौचालय निर्माण, हाइड्याम तथा जलाशय निर्माण कार्यक्रम अघि बढाइने बताउनुभयो ।

उद्योग तथा रोजगारीतर्फ घोराहीमा आईसिटी हब स्थापना, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन, कोइलाबास नाका प्रभावकारी सञ्चालन, युवा उद्यमका लागि सहुलियत ऋण, ‘एक शहर, एक अटो भिलेज’ अवधारणा कार्यान्वयन गर्ने योजना सार्वजनिक गर्नुभयो ।

युवा, खेलकुद र सामाजिक न्याय

युवा तथा खेलकुद क्षेत्रमा बहुउद्देश्यीय रङ्गशाला निर्माण, प्रत्येक वडामा खेल मैदान, ‘एक विद्यालय, एक खेल शिक्षक’ व्यवस्था, युवा नेतृत्व विकास कार्यक्रम, लागुऔषध दुव्र्यसनविरुद्ध अभियान र स्वयंसेवी सामाजिक कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

सामाजिक न्यायतर्फ स्वर्गद्वारी गुठीको मोही समस्या समाधान, भूमिहीनलाई लालपूर्जा, लघुवित्त पीडितको ऋण पुनर्संरचना, महिला तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, जातीय विभेद अन्त्य, ‘सुरक्षा गृह’ सञ्चालन, सिसीभिटी र फ्लडलाइट विस्तार गरिने बताउनुभयो । साथै धारापानी–गोरक्षनाथ–अम्बिकेश्वरी–स्वर्गद्वारी–छिल्लीकोट धार्मिक पर्यटन सर्किट विकास, ऐतिहासिक क्षेत्र अध्ययन–उत्खनन, सरियु नदी मुहान संरक्षण र क्रान्ति संग्रहालय निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
समाचार