सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२२ चैत - लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी क्रिकेट क्लबको आयोजनामा चैत १५ गतेदेखि देउखुरी क्रिकेट रंगशालामा सञ्चालन भएको पाँचौं लमही मेयर कप नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि देउखुरी वारियर्सले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ५ लाई ५ रनले पराजित गर्दै देउखुरी वारियर्सले उपाधिसहित नगद ४० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता बनेको लमही वडा नं. ५ ले नगद ३० हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । देउखुरी वारियर्सका राजकुमार कुमालले ३८ बलमा दुई छक्का र एक चौकासहित ३६ रनको योगदान दिए । त्यस्तै निर्मल शाही ठकुरीले २७ र सन्दीप थापाले २३ रन जोडे । बलिङतर्फ वडा नं. ५ का सुरज धिताल र श्रवण चौधरीले समान २–२ विकेट लिए भने जीवन केसी, सञ्जय कुमाल र जहवीर खानले १–१ विकेट लिए ।
१२२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वडा नं. ५ निर्धारित २० ओभरमध्ये १९.५ ओभरमा अलआउट हुँदै ११६ रनमै सीमित भयो र खेल ५ रनले गुमाउन पुग्यो । वडा नं. ५ का विमल खत्रीले २६, जीवन केसीले २४ र सुबन बस्यालले १९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । देउखुरी वारियर्सका बलर अतितराज पाण्डे र निर्मल शाही ठकुरीले समान ३–३ विकेट लिए भने एलिसन अधिकारीले २ विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका निर्मल शाही ठकुरी ‘म्यान अफ द फाइनल’ घोषित हुँदै ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा सन्दीप थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए भने सुभम खनाल उत्कृष्ट बलर र सुशान्त भण्डारी इमर्जिङ खेलाडी घोषित भए । देउखुरी क्रिकेट क्लबका अध्यक्ष प्रकाशकुमार जिसीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी योगी, वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी, जेनजी प्रतिनिधि ओमप्रकाश बसेललगायतले खेलकूदको विकास र युवाहरुको सक्रिय सहभागिताले समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको थियो । साभार युगबोध