चारदिने चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री खनाल

शनिबार, जेठ ३०, २०८३

काठमाडौँ,३० जेठ - परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुहुने भएको छ। जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीन भ्रमणमा जान लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहयोग विस्तार गर्ने तथा पारस्परिक हितका विविध विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। साथै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई नेपालमा विदेशी लगानी प्रवर्द्धनका विषयमा सम्बोधन गर्नुहुनेछ। उहाँले चिनियाँ व्यापारिक समुदाय तथा चीनस्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।

मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनुहुनेछ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्